२५ जेष्ठ २०८३, सोमबार

सुनील थापाको निधनले चलचित्र उद्योग स्तब्ध, अपूरणीय क्षति भयो : प्रशान्त ताम्राकार

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ कलाकार सुनील थापाको आकस्मिक निधनले नेपाली चलचित्र उद्योग शोकमा डुबेको छ । उनको निधनलाई चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।

कलाकार प्रशान्त ताम्राकारले सुनील थापाको निधनको खबरले आफू अत्यन्तै स्तब्ध भएको बताए । उनले भने, ‘हिजो राति साढे आठ बजेसम्म हामी सुटिङमा सँगै थियौँ । बिहान एक्कासी यस्तो खबर आयो, विश्वास नै गर्न सकिनँ । यो चलचित्र उद्योगका लागि ठूलो क्षति हो ।’

ताम्राकारका अनुसार थापा शुक्रबारसम्म चलचित्र ‘रामनाम सत्य’को सुटिङमा सक्रिय थिए । ‘हिजो क्लाइमेक्स सिन थियो, त्यो अन्तिम सुटिङ पनि थियो । हामी बसेर गफ गर्‍यौँ, हाँस्यौँ र छुट्टियौँ । म पहिले निस्किएँ, उहाँको केही काम बाँकी भएकाले बस्नुभएको थियो,’ उनले सम्झिए ।

उनले भावुक हुँदै थपे, ‘हामी पर्सी दैलेखमा सुटिङका लागि जाने योजना बनाउँदै हाँसेर छुटेका थियौँ । मेरो चलचित्र यात्राको सुरुवात नै सुनील दाइसँग भएको हो । संयोगवश, मेरो अन्तिम सुटिङ पनि उहाँसँगै भयो । चलचित्र उद्योगले उहाँका धेरै कुरा मिस गर्नेछ । उहाँ अझै धेरै काम गर्न बाँकी छ भन्नुहुन्थ्यो, नयाँ–नयाँ प्रोजेक्टका बारेमा कुरा गरिरहनुहुन्थ्यो ।’

ताम्राकारका अनुसार बिहान करिब ४ बजे थापा सकुशल अवस्थामा बाथरुम गएको र करिब साढे ५ बजे अस्पताल पुर्‍याइएको जानकारी प्राप्त भएको थियो । ‘बिहान खबर सुन्दा म काँपिरहेको थिएँ,’ उनले भने ।

हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा वरिष्ठ कलाकार थापाको निधन भएको अस्पतालले जनाएको छ ।

उनको निधनको खबर फैलिएपछि नर्भिक अस्पतालमा कलाकार, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो ।

शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौं नेपाली तथा भारतीय चलचित्रमा अभिनय गर्दै खलनायक र चरित्र कलाकारका रूपमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।

नेपाली चलचित्र क्षेत्रले एक अनुभवी, कर्मठ र समर्पित कलाकार गुमाएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।