काठमाडौं । नेपाल प्रहरीले विभिन्न प्रहरी कार्यालयहरूमा प्राप्त भएका हराएका तथा फेला परेका मानिसहरू र पहिचान नखुलेका तथा बेवारिसे शवहरूको विवरण अनलाइनमार्फत नै हेर्न सकिने व्यवस्था मिलाएको छ ।
सर्वसाधारणको सहजता र सूचनामा पहुँच पु¥याउने उद्देश्यले प्रहरीले यो डिजिटल प्रणाली कार्यान्वयनमा ल्याएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार अब जोसुकैले पनि घरैमा बसेर हराएका आफन्तको खोजी वा फेला परेका अज्ञात व्यक्ति तथा शवहरूको बारेमा विस्तृत जानकारी लिन सक्नेछन् । यसअघि यस्ता विवरणहरूका लागि सम्बन्धित प्रहरी कार्यालयमै पुग्नुपर्ने वा सम्पर्क गर्नुपर्ने बाध्यता थियो ।
प्रहरीले विवरणहरूलाई व्यवस्थित बनाउन तीनवटा छुट्टाछुट्टै वर्गमा वर्गीकरण गरी अनलाइन पोर्टलमा राखेको छ । सूचनालाई अझ प्रविधिमैत्री बनाउन प्रहरीले प्रत्येक विधाका लागि छुट्टाछुट्टै क्यूआर कोड पनि जारी गरेको छ ।
सर्वसाधारणले आफ्नो मोबाइलबाट ती कोड स्क्यान गरी सिधै सम्बन्धित विवरण भएको वेबपेजमा पुग्न सक्नेछन् ।















प्रतिक्रिया