–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुर जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित दोस्रो उदयपुर महोत्सव २०८२ माघ २३ गतेदेखि फागुन ८ गतेसम्म गाईघाटस्थित त्रियुगा नगरपालिका–३ को त्रियुगा नदी किनारमा आयोजना हुने भएको छ ।
जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा सञ्चालन हुने महोत्सव “कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवको तयारी पूरा भएको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष गजेन्द्र भगवतले यो महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवर्द्धन र बजारीकरण गर्ने साझा मञ्च भएको बताए ।
१५ दिनसम्म चल्ने महोत्सवमा जम्मा २०० वटा स्टल रहनेछन् । जसमा कृषि तथा घरेलु उद्योग प्रदर्शनी, होटल तथा अटोमोबाइल स्टल, महिला तथा युवा उद्यमीका स्टल, पर्यटन प्रवर्द्धन कक्ष, शैक्षिक सामग्री तथा पुस्तक प्रदर्शनी र स्थानीय तथा जातीय खानाका परिकार समावेश हुनेछन् । आयोजकका अनुसार महोत्सव अवधिभर दैनिक करिब २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवका मुख्य आकर्षणमा टिन डान्स ट्यालेन्ट शो, सुपर ममी डान्स प्रतियोगिता, ताजमहल र लण्डन ब्रिजको झल्को दिने सेल्फी पार्क, अत्याधुनिक बाल उद्यान, जलपरी मनोरञ्जन, साथै स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन् । आयोजकका अनुसार बलिउड मेगा स्टार विनोद राठोडलगायत कलाकारहरूको प्रस्तुति पनि समावेश गरिनेछ ।
स्वास्थ्य सेवालाई समेत प्राथमिकता दिँदै न्यूरो अस्पताल विराटनगरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । सुरक्षा व्यवस्थाका लागि सीसी क्यामेरा, स्वयंसेवक परिचालन, २४ सै घण्टा सुरक्षा गार्ड, एम्बुलेन्स, स्वास्थ्य सेवा, बीमा सुविधा तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
महोत्सवमा प्रवेश शुल्क सर्वसाधारणका लागि १५० रुपैयाँ र विद्यार्थीका लागि परिचयपत्रका आधारमा १०० रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विशेष सांस्कृतिक तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति हुने दिन टिकट दर फरक हुने जानकारी दिइएको छ ।
आयोजकका अनुसार दोस्रो उदयपुर महोत्सव कार्यक्रम मात्र नभई स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य मजबुत बनाउने साझा अभियान रहेको समेत आयोजक जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । उदयपुरको पहिचान र सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवलाई ऐतिहासिक रूपमा सफल बनाउने तयारी अन्तिम चरणमा पुगेको आयोजकको दाबी छ । जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरले महोत्सवसम्बन्धी सूचना, समाचार, अन्तर्वार्ता तथा विशेष सामग्री सकारात्मक र तथ्यपरक ढंगले प्रकाशन–प्रसारण गर्न सम्पूर्ण सञ्चार माध्यमलाई आग्रह समेत गरेको छ ।









प्रतिक्रिया