सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा निर्माण हुन लागेको वडा कार्यालय भवनको जग्गादाता गिर्दल कामीले शिलान्यास गरेका छन् । वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि आवश्यक जग्गा निःशुल्क दान गर्ने समाजसेवी कामीले नै प्रमुख अतिथिका रूपमा उपस्थित भएर भवनको विधिवत् शिलान्यास गरेका हुन् ।
लेखपोखरामा भवन निर्माणका लागि उनले ६ आना २ पैसा जग्गा निःशुल्क दान गरेका छन् । उक्त जग्गा छत्रेश्वरी गाउँपालिकाको नाममा कानुनी रूपमा पास भइसकेको वडा अध्यक्ष फौदबहादुर बस्नेतले जानकारी दिए । वडाको आफ्नै नयाँ भवन निर्माण भएपछि सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्न मद्दत पुग्ने उनको अपेक्षा छ । भवन निर्माणको कुल अनुमानित लागत ८६ लाख २ हजार ९ सय ७१ रुपैयाँ ५६ पैसा रहेको छ भने सम्झौता रकम भ्याटसहित ५५ लाख ८४ हजार ४ सय ९३ रुपैयाँ ६७ पैसा रहेको छ । सम्झौताअनुसार निर्माण कार्य अघि बढाइने र चालु आर्थिक वर्षभित्रै भवन सम्पन्न गर्ने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ ।
शनिबार भवनको सिलान्यास गर्दै समाजसेवी कामीले वडा कार्यालय भवनका लागि आफ्नो तर्फबाट गरिएको सानो योगदानले जनप्रतिनिधि र सर्वसाधारणलाई सेवा दिन–लिन सहज हुने विश्वास व्यक्त गरे । उनले विकास निर्माणका काममा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहको विकासमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा गाउँपालिका तथा वडाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । न्यु तुल्सी निर्माण सेवाले सम्झौता अवधिमै भवन निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको छ ।









प्रतिक्रिया