काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह नै भएको स्पष्ट पारेका छन् । मंगलबार साँझ पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भृकुटीमण्डवमा भएको कार्यक्रम नियमित कार्यक्रम नभई पार्टीभित्रको परिवर्तन अभियान भएको उल्लेख गरे ।
‘यो नियमित कार्यक्रम होइन, हामी विद्रोहमा सहभागी भएका छौँ । यो विद्रोह हो । प्रश्न गर्नु पनि विद्रोह हो,’ उनले भने । महामन्त्री थापाले मौन बस्नु मृत्यु स्वीकार्नुजस्तै हुने टिप्पणी गर्दै पार्टी र आफ्नो भविष्यका लागि प्रश्न उठाइएको बताए ।
‘कहिलेकाहीँ मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो । हामीले प्रश्न गरेका हौँ, त्यो हाम्रो लागि गरेको हो, उनको भनाइ थियो ।
आफूहरू कुनै पद वा हैसियतका लागि नभई पार्टी परिवर्तनका लागि आन्दोलनरत रहेको उल्लेख गर्दै उनले भने, ‘हामी यहाँ केही बन्न आएका होइनौँ । केही बन्न आतुर भएर यो आयोजना गरिएको पनि होइन । प्रश्न पनि केही बन्नका लागि गरिएको होइन ।’ कांग्रेस परिवर्तनका लागि तयार रहेको र बदलिएको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन सक्छ भन्ने सन्देश दिन दुई दिनसम्म संकल्प गरिएको उनले बताए । ‘नारामा भनिएझैँ कांग्रेस बदलिन तयार छ, र बदलिएको कांग्रेसले देश बदल्ने जिम्मा लिन सक्छ,’ उनले भने ।
बन्दसत्रमा अनुपस्थित पार्टी सभापति, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरूलाई समेत समेटेर छलफल गरिएको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘यहाँ उपस्थित नहुनुभएका पार्टी सभापति, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरू पनि यहाँ उपस्थित हुनुहुन्छ भन्ने ठानेर कुर्सी राखी छलफल गरिरहेका छौँ । किनकि हामी सिङ्गो कांग्रेस बनेर छलफल गरिरहेका छौँ ।’ उनले हजारौँ संख्यामा आएका महाधिवेशन प्रतिनिधिहरुको दुई दिनदेखिको भेलालाई हल्लासँग नलिन आग्रह गरे । उनले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै दखलअन्दाजी गर्न नहुने पनि बताए ।








प्रतिक्रिया