काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र मंगलबार बिहानदेखि जारी छ । बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् । अहिलेसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो ।
बन्दसत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन् । उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।
महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीहरूले आफ्नो सुझाव दिइरहेका छन् । सोही क्रममा मधेश प्रदेशका वीरेन्द्र साहले संघीय बजेट जनसंख्याको आधार हुनुपर्ने बताएका छन् । प्रदेशमा क्लष्टरका आधारमा निर्वाचन प्रणाली हुनुपर्नेमा उनले जोड दिए । पार्टीमा दुई पटक प्रधानमन्त्री भएपछि हुन नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । सुनकोशी मरिन डाइभर्सन तराई सिचाइँका लागि विशेष व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
पार्टीमा कम्तीमा १० वर्ष क्रियाशील हुनुर्ने उनको सुझाव छ । पार्टीको तर्फबाट मन्त्री पदमा गएकाहरूको सार्वजनिक सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टीमा ३३ प्रतिशत महिलाहरू उम्मेदवार बनाउन उनको माग छ । पार्टीबाट कारबाहीमा परेका व्यक्तिलाई कम्तीमा एक वर्ष निलम्बनमा राख्नुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया