८ असार २०८३, सोमबार

निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । वीरगञ्जमा प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ । दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा तनाव उत्पन्न भएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । सोही क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यता, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकारमाथि आक्रमण र महासंघको आपत्ति
प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा ’भोजपुरी टाइम्स दैनिक’का कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् । उनीहरूले साहको मोबाइल समेत खोसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।

महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको यस कार्यलाई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको गम्भीर हनन भनिएको छ । महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन अपिल गरेको छ ।

सुरक्षा व्यवस्था कडा
विगत दुई दिनदेखि सामाजिक र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि बढेकाले वीरगञ्जका विभिन्न संवेदनशील क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ । यद्यपि, घण्टाघर चोक, माइस्थान र बसपार्क क्षेत्रको जनजीवन भने सामान्य रहेको छ ।

प्रशासनले सर्वसाधारणलाई कुनै पनि प्रकारको अफवाहमा नलाग्न, शान्ति र संयमता कायम राख्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न विशेष आग्रह गरेको छ ।