१९ असार २०८३, शुक्रबार

एमाले बर्दिया–१ बाट गोविन्द थपलिया सहित ५ जनाको नाम सिफारिस

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया । बर्दिया जिल्ला संघीय निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ।

सिफारिस हुनेहरूमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, गोविन्द थपलिया, सुरेश रेग्मी र सुष्मा चौधरी छन् । शालिकराम अधिकारी नेकपा एमाले बर्दिया जिल्ला कमिटीका अध्यक्ष हुन् भने कपिल ज्ञवाली जिल्ला कमिटी सदस्य हुन् । सुरेश रेग्मी एमालेका पुराना नेता हुन् भने सुष्मा चौधरी बाँसगढी नगरपालिकाकी पूर्व उपमेयर छिन् ।

यसैगरी गोविन्द थपलिया अनेरास्ववियु त्रि–चन्द्र क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्दै अनेरास्ववियु भेरी अञ्चल कमिटी अध्यक्ष, केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनी दुई कार्यकाल एमाले बर्दिया–काठमाडौं सम्पर्क मञ्च सचिवालय सदस्य तथा युवा–विद्यार्थी फाँट इन्चार्ज रहेका थिए ।

साथै, दुई कार्यकाल  एमाले बर्दिया जिल्ला कमिटी सचिवालय सदस्य भइसकेका थपलिया पूर्णकालीन पार्टी कार्यकर्ताका रूपमा संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका छन् । एमाले स्रोतका अनुसार बदलिँदो राजनीतिक परिवेश र ४० वर्षमुनिको युवा क्लस्टरलाई ध्यानमा राख्दै थपलियाको नाम सिफारिस गरिएको हो। थपलियाका पिता राजकुमार थपलियाको पनि एमाले पार्टीमा उल्लेखनीय त्याग, संघर्ष र योगदान रहेको स्थानीय नेता–कार्यकर्ताहरू बताउँछन्।

भूगोल पार्टीले आवश्यकताको आधारमा नाम सिफारिस गरेको र केन्द्रले निष्पक्ष मूल्यांकन गर्नेमा आफू विश्वस्त रहेको थपलियाले बताए । आफू ग्राउन्ड जिरोबाट संगठन निर्माणमा खटिएको अबिचलित कार्यकर्ता भएको उनको भनाइ छ। एमाले महासचिव शंकर पोखरेल ३१ वर्षकै उमेरमा सांसद बनेको उदाहरण उल्लेख गर्दै थपलियाले आफू सबै हिसाबले चुनावका लागि तयार रहेको जानकारी दिए ।

दुई विषयमा स्नातकोत्तर (मास्टर डिग्री) पूरा गरिसकेका थपलिया हाल अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा एमफिल लिड पीएचडी गर्दै छन् ।