काठमाडौं । स्थानीयको आक्रमणपछि बेपत्ता भएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगार्ड इलाका प्रहरी कार्यालयका प्रहरी सम्पर्कमा आएका छन् ।
स्थानीयले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेपछि प्रहरीहरू भागेका थिए । शुक्रबार लागु औषध ओसारपसार गरिरहेको सूचनाका आधारमा प्रहरीले ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकायालाई चेकिङका लागि रोकेको थियो ।
प्रहरीले चेकिङ गर्न लागेपछि उनी ठूलीभेरी नदीमा हाम फालेर बेपत्ता भएका छन् । स्थानीयले भने प्रहरीले लखेटी–लखेटी नदीमा खसालेको आरोप लगाउँदै तोडफोड र आगजनी गरेका हुन् । नदीमा बेपत्ता रोकायाको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भइरहेको छ ।
यसैबीच घटनाको छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । यसैगरी घटनापछि इलाका प्रहरी कार्यालय करोपगार्डका सबै १० जना प्रहरीलाई जिल्ला सदरमुकाम तानिएको छ ।








प्रतिक्रिया