काठमाडौं । आज बिहानैदेखि वीरगन्जको स्थिति तनावग्रस्त भएपछि प्रदेशका ८ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । झडप हुन सक्ने सम्भावित स्थान पहिचान गरी ती क्षेत्रमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
टिकटकबाट सुरु भएको विवाद धनुषाबाट वीरगन्ज सरेपछि सुरक्षा सतकर्ता बढाइएको हो । केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि धनुषा जिल्लाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले एउटा विवादस्पद भिडिओ टिकटकमा अपलोड गरेका थिए । उक्त भिडिओले धार्मिक सहिष्णुता बिगारेको भन्दै स्थानीयले दुवै युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।
यस विषयमा इलाका प्रहरी कार्यालय, खजुरीमा छलफल भइरहँदा पक्राउको विरोध गर्ने र पक्राउको समर्थन समूहबीच झडप भएको थियो । यो विवाद केन्द्र धनुषाको खजुरी र जनकपुर क्षेत्र हो ।
यो घटनाको विरोध र समर्थनमा सामाजिक सञ्जालमा भइरहेका बहसले वीरगन्जका युवा आन्दोलित भएका हुन। आइतबार बिहानैदेखि वीरगन्जको घण्टाघर र आसपासका क्षेत्रमा युवाले टायर बालेर प्रदर्शन गरेका छन् ।








प्रतिक्रिया