२२ असार २०८३, सोमबार

बुद्ध एयरको विमान दुर्घटनापछि भद्रपुरमा घटाइयो रनवे, विमानस्थल पुनः सञ्चालन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापाको भद्रपुर विमानस्थल रनवे घटाएर सञ्चालनमा ल्याइएको छ । शुक्रबार राति बुद्ध एयरको विमान दुर्घटना भएपछि रनवे घटाएर सञ्चालनमा ल्याइएको विमानस्थल कार्यालय प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनाग्रस्त विमानको पछाडिको भाग अफ–ट्रयाकमा परेकाले एक हजार ५०० मिटरको रनवे घटाएर हाल एक हजार ४०० मा विमान सञ्चालन भइरहेको छ । रनवे छोट्ट्याएर विमानस्थल सञ्चालन गरिएकाले त्यसबारेमा सबै पाइलटलाई नियमित रूपमा जानकारी गराइरहेको उनले बताए । हाल प्रयोगमा रहेको एक हजार ४०० मिटर रनवे विमान सञ्चालनका निम्ति पर्याप्त रहेको उनको भनाइ छ ।

उनले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताए । शुक्रबार राति ९ बजेर १० मिनेटमा अवतरण गर्ने क्रममा विमान रनवेबाट बाहिर गएको उनले जानकारी दिए ।

त्यति बेला मौसम सफा रहेको उनले उल्लेख गरे । मौसमका कारण दुर्घटना नभएको उनले बताए । प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने उनले उल्लेख गरे । उनले अनुसन्धानपछि मात्र वास्तविक कारण खुल्ने बताए ।

काठमाडौंबाट भद्रपुरका निम्ति उडेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ‘ओभर रन’ भई दुर्घटनामा परेको थियो । उक्त विमानमा ५१ यात्रु, चालक दलका चार सदस्य र एक इन्जिनियर सवार थिए ।

दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सातजना घाइते भएका थिए । घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । अरू ६ यात्रु सामान्य उपचारपछि ‘डिस्चार्ज’ भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भइरहेको छ ।