३१ असार २०८३, बुधबार

अनसनरत निकोलस भुसालपक्षसँगको वार्ता निष्कर्षविहीन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न माग राख्दै अनसनमा बसेका कमल भुसाल (डा. निकोलस भुसाल) आज को वार्ता निष्कर्षविहीन टुंगिएको छ । सरकारले बिहीबारै भुसालसँग वार्ताका लागि वार्ता समिति बनाएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भिष्मकुमार भुसाल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य छन् ।

सोही समितिले भुसाल पक्षधरहरूसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता गरेको थियो । तर, आजको वार्ता निष्कर्षविहीन टुंगिएको भुसालको तर्फबाट वार्तामा सहभागी जेनजी अगुवा अजय सोडारीले जानकारी दिए ।

“आज हाम्रा माग र मुद्दाका बारेमा सरकारपक्षलाई स्पष्ट पार्ने काम भएको छ,“ सोडारीले भने, “सरकारी वार्ता टोलीको पक्षबाट उक्त मुद्दाका बारेमा अध्ययन गरी भोलिसम्म जवाफ दिने र त्यसपछि प्रधानमन्त्रीज्यूसँग वार्ता गर्ने सहमति भएको छ ।“

भुसालको पक्षबाट सोडारीसहित, केशवबिक्रम खड्का, एसपी शाह, बिक्रम कार्की, लेनिन विष्ट, सुनिल सिंह, नर्गिस थापा, सुशील बुढाथोकी, सौरभ भण्डारी, डा. जगत विक, जितेन्द्र सिंह, विकेश साह, जुद्ध बहादुर सिंह श्रेष्ठ, सुमन बोहरा, भवानी श्रेष्ठ, अभिषेक श्रेष्ठ तथा बृजन बिके सहभागी थिए ।