२५ जेष्ठ २०८३, सोमबार

कूटनीतिक विश्वास नहुँदा गौतम बुद्ध विमानस्थल सञ्चालन हुन सकेन : मुख्यमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर्राष्ट्रिय विश्वास निर्माण हुन नसक्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन नसकेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले विदेशी राष्ट्रसँग प्रभावकारी कूटनीतिक सम्बन्ध विस्तार नगर्दा अन्तर्राष्ट्रिय उडान निरन्तर हुन नसकेको बताएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औं वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन अपरिहार्य रहेको बताए । उनले भने, “विमानस्थल भौतिक रूपमा तयार भए पनि कूटनीतिक वातावरण नबन्दा अपेक्षित परिणाम आउन सकेको छैन ।”

संघीय सरकारले विमानस्थल सञ्चालनमा अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताए ।

तर, प्रदेश सरकारले अघि सारेका श्रम स्वीकृति, स्वास्थ्य जाँच तथा अन्य सहजीकरणसम्बन्धी प्रस्तावमा संघीय सरकारले निर्णय नगर्दा प्रक्रिया अघि बढ्न नसकेको उनको गुनासो थियो ।

“अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यअनुसार नियमित उडान नहुँदा यहाँका व्यवसायी धरासायी हुने अवस्थामा पुगेका छन्,” मुख्यमन्त्री आचार्यले भने, “यसका लागि अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध मजबुत बनाउँदै विश्वास निर्माण गर्न जरुरी छ ।”

विमानस्थल सञ्चालन नहुँदा पर्यटन, व्यापार र रोजगारी क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै उनले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीलाई भैरहवा ल्याउने, प्रभावकारी प्रचारप्रसार गर्ने र लुम्बिनीलाई केन्द्रमा राखेर विश्वभर सन्देश फैलाउने रणनीति आवश्यक रहेको बताए ।