काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारका लागि बुझाएको बन्दसूचीले पार्टीभित्रै तीव्र विवाद जन्माएको छ । प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्ने अभ्यासलाई कमजोर बनाइएको भन्दै पार्टीका नेताहरू र समर्थकहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउन थालेका छन् ।
केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले बन्दसूचीले प्राइमरीको मर्ममाथि प्रहार गरेको टिप्पणी गर्दै पार्टी नेतृत्व र सचिवालयमा रहेका व्यक्तिहरू समानुपातिक सूचीबाट हटेर प्रत्यक्ष चुनावमा जानुपर्ने धारणा राखेकी छन् । उनले उच्च पदमा बसेकाहरूले नै सुरक्षित बाटो खोज्नुले पुराना दलको अभ्यास दोहोरिएको संकेत गरेको बताइन् ।
यसैबीच, केन्द्रीय सदस्य ज्वाला संग्रौलाले हतारमा भएका कमजोरी सच्याउनुपर्ने बताउँदै सूची पुनःपरिमार्जनको माग गरेकी छन् । प्राइमरीमा राम्रो मत ल्याएकाहरू सूचीमा पछाडि पारिएको भन्दै असन्तुष्टि बढेको छ ।
त्यस्तै, प्राइमरीमा सहभागी स्वस्तिका लामिछानेले पनि बन्दसूचीप्रति प्रश्न उठाउँदै नेतृत्वले ‘ग्राउन्डको आवाज’ सुन्नुपर्ने बताएकी छन् । उनका अनुसार अहिलेको विवाद उम्मेदवारभन्दा बढी नेतृत्वको विश्वसनीयतासँग जोडिएको छ ।
रास्वपाभित्र बढ्दो असन्तुष्टिले समानुपातिक छनोट प्रक्रिया र पार्टीको आन्तरिक लोकतन्त्रबारे गम्भीर बहस सुरु गराएको छ ।








प्रतिक्रिया