काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा कांग्रेस र एमालेले बराबरी सिट बाँडेर संयुक्त रूपमा अघि बढ्न सक्ने बताएका छन्। उनले देश गम्भीर संकटमा रहेको भन्दै लोकतन्त्र जोगाउन दुवै ठूला दलबीच सहकार्य अपरिहार्य भएको धारणा राखे।
मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले कांग्रेस–एमालेको साझा मोर्चाबाट मात्रै प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सकिने दाबी गरे। संसद पुनःस्थापना वा नयाँ निर्वाचन—दुवै विकल्पमा लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो।
‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ’ उनले भने, ‘हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ ।’
अदालतको बाटो वा सडकको बाटोबाट विघटित संसद पुनस्थापना गर्ने फागुन २१ समस्मको समय रहेको उपाध्यक्ष थापाले बताए । ‘आगामी निर्वाचनमा जो फागुन २१ मा हुन गइरहेको छ, त्यो नहुन पनि सक्छ । यदि उनीहरुले आफू अनुकूल नभए त्यो नगर्न पनि सक्छन्,’ उनले भने ।
थापाले थपे, ‘तर, त्यो उनीहरूले गर्दछन् भन्ने मानेर हामी दुई वटा शक्तिहरूले यो लडाईंमा लोकतन्त्रवादीहरूलाई जिताउन र प्रतिगमनकारीहरुलाई परास्त गर्न मोर्चाबन्दी गर्न जरूरी छ ।’









प्रतिक्रिया