काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई परास्त गर्न विभिन्न शक्तिहरू मोर्चाबन्दीमा लागेको टिप्पणी गरेका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले विपक्षी गठबन्धनप्रति व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
ओलीले भने, “कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन।” अध्यक्ष ओलीले यो भनेपछि सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो। उनले एमालेलाई कमजोर पार्न विभिन्न शक्ति एक ठाउँमा उभिएको दाबी गरे।
अध्यक्ष ओलीले नेपाली कांग्रेसप्रति पनि टिप्पणी गर्दै भने, “एमाले मात्र होइन, कांग्रेस पनि छ। कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ।”
उनले एमाले चुनावको प्रतीक्षामा रहेको स्पष्ट पार्दै आगामी निर्वाचनले देशको वास्तविक लोकप्रियता कसको छ भन्ने फैसला गर्ने बताए। “प्रधानमन्त्री बनाइसकेका मान्छेहरू छन्, तर हामी चुनाव पर्खिरहेका छौं। कहिले हुन्छ- फागुन २१ मा, वैशाखमा वा अर्को मंसिरमा—हामी चुनाव पर्खिरहेका छौं,” उनले भने।
महाधिवेशनपछि पार्टी थप सशक्त बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले विभिन्न राजनीतिक प्रश्नहरूको जवाफ दिएको दाबी गरे। उनले आगामी निर्वाचनमार्फत जनताले राष्ट्रिय निर्णय गर्ने विश्वास पनि व्यक्त गरे।
कार्यक्रमका तस्वीरहरू–


















प्रतिक्रिया