काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद रहेको बताएका छन।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद रहेको बताए ।
‘केही दिन अघि प्रधानमन्त्री बाँडेको हल्ला सुने । प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ’, रवि लामिछाने र शाहबीच भएको सम्झौताप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले भने -‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? यो अस्ति सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो यो ?’ अध्यक्ष ओलीले त्यसबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री पद बाँडिएको बताए ।
नेकपा (एमाले)को ११ औं महाधिवेशनका सन्देश राजनीतिक निकासका सन्दर्भम मदन आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन अघि प्रधानमन्त्री पद विभिन्न व्यक्तिहरुले बाँडे पनि निर्वाचन पछि एमाले काँग्रेसले नै त्यो पद पाउने बताए । ‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ ’ अध्यक्ष ओलीले भने- ‘एमाले-काँग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ?’
अध्यक्ष ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद तत्काल पुनर्स्थापना हुनुपर्ने बताए । सरकार बनाउने, कसलाई हटाउने, कसलाई राख्ने भन्ने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनले बताए ।
अध्यक्ष ओलीले संसद पुनर्स्थापना मुद्धा सर्वोच्च अदालतमा भएको तर यसको फैसला चाँडै आवश्यक रहेको धारणा राखे । ‘एउटै मुद्धा वर्षौं बोकेर हिड्न सकिंदैन । ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो ’ अध्यक्ष ओलीले भने -‘संसद पुनर्स्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट हल गर्न सकिन्छ ।’








प्रतिक्रिया