काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड जारी गर्ने सम्बन्धमा रणनीतिक सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना अन्तर्गतको यस नेपालपे कार्ड आफ्ना ग्राहकहरुलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा स्थापित गरेको छ।
यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपालपे कार्ड जारी गर्न बाटो खुलाउने छ। साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ। सम्झौताले बैंकका ग्राहकहरुलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङ्गप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिनेछ।
नेपालपे कार्ड मार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको हो। बैंकका ग्राहकहरुको सक्रिय सहभागिताले सरल र सहज बैंकिङ्ग सेवा पहुँच पुर्याउनुको साथै देशमा नगदरहित अर्थतन्त्रको विकास गर्न समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।








प्रतिक्रिया