
सुर्खेत, ६ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश विकास र समृद्धिको आधार स्तम्भ नै राजनीतिक तथा सामाजिक एकता भएको बताएका छन् ।
नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौं जिल्ला कमिटीको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै उनले कर्णाली पछाडि पर्नुको मुख्य कारण इच्छाशक्तिको कमी होइन, एकतामा देखिएको कमजोरी भएको उल्लेख गरे ।
मुख्यमन्त्री कँडेलले पार्टीभित्र र बाहिर देखिने विभाजनात्मक सोचका कारण विकास प्रक्रियामा अगाडि बढ्न नसकेको बताउँदै अब प्रदेश विकासलाई गति दिन सबै पक्ष एकै उद्देश्यका साथ एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
“कर्णालीलाई अगाडि बढाउने तागत एउटै हो— एकता । हामी अलगअलग भएर होइन, एउटै आवाज र साझा दृष्टिकोणका साथ अघि बढेमा मात्र कर्णालीले छलाङ मार्न सक्छ,” उनले भने । एमालेले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जनताको घरघरमा पुगेको छ । तर वरिपरिको मान्छे नहेरी, आफ्नै हितलाई मात्र प्राथमिकता दिने व्यवहारले संगठन र प्रदेश दुवै कमजोर बन्दै गएको उनले टिप्पणी गरे ।
“सामूहिक भावना भन्दा व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति त्याग्नैपर्छ । अवसर खोज्ने मात्र होइन, जिम्मेवारी बोकेर अघि बढ्ने समय आएको छ” मुख्यमन्त्री कँडेलले भने । बैठकमा उनले हालको राजनीतिक परिस्थिति सहज नभएको उल्लेख गर्दै कठिन अवस्थालाई सहज बनाउन उपयुक्त निर्णय र सही नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए ।
“नेतृत्वको विषयमा पनि कर्णालीले एउटै धारणा बनाउनु आवश्यक छ,” उनले भने ।
उनले सामाजिक सञ्जालको प्रयोगमा पनि जिम्मेवार बन्न नेतादेखि कार्यकर्तासम्म सबैलाई आग्रह गरे । “सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम मात्र होइन, संगठनलाई बलियो वा कमजोर पार्ने उपकरण पनि हो । त्यसैले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ,” कँडेलको भनाई छ । देशको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले संविधानमाथि प्रश्न उठाउने अवस्था नआओस् भनेर सबै दलले संविधानको रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखे ।
बैठकमा केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल, ठम्मर विष्ट प्रदेश कर्णाली कमिटी अध्यक्ष गुलावजग शाह लगाएको जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया