११ श्रावण २०८३, सोमबार

हिमाली गाउँका स्थानीयलाई गाउँमा नै एकीकृत सरकारी सेवा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ३ मंसिर । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँबाटै सरकारी सेवा प्रवाह गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।

रामेछाप जिल्लाको अन्तिम मानववस्ती हिमाली गाउँ वडा नं–१ गुम्देलबाट शिविर सुरु भएको हो । शिविरको शुभारम्भ गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे ।

गुम्देलमा सञ्चालन गरिएको शिविरमा ५३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराएको छ भने ५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

शिविरमा गाउँपालिका मार्फत वडामा सञ्चालन हुने १० वटा योजना सम्झौता भएको छ ।

त्यसैगरी ५ व्यवसायीले व्यवसाय नवीकरण गराएका छन् । पशु स्वास्थ्यअन्तर्गत ६८ घरधुरीका ८ सय ४ पशुलाई औषधि वितरण गरिएको छ । साथै, ९ वटा कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय निकायले प्रदान गरिने सेवा पुनः स्थापन तथा दर्ता प्रक्रियाबाट १३ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा अध्यक्ष सुनुवारका साथै उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, वडाध्यक्षहरू तथा सरकारी अधिकारीहरू सहभागिता थियो ।

शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी दिए ।