१ असार २०८३, सोमबार

सर्लाहीमा विद्युत् ट्रान्सफर्मर चारीको आतंक, ४ भारतीयसहित ९ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ३ मंसिर । जिल्लाका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर क्रमशः चोरी हुँदै आएपछि प्रहरीको विशेष अभियानमार्फत संलग्न समूहका ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी ४ भारतीय नागरिकसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार बागमती, रानिगञ्ज, चन्द्रनगरलगायतका क्षेत्रमा हालसम्म १७ वटा ट्रान्सफर्मर चोरी गरिएका थिए ।

‘अप्रेसन चार्ली’ नामक विशेष अभियान सञ्चालन गरी महोत्तरी, बारा, पर्सा लगायत स्थानबाट उनीहरूलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा इलामको माइजोगमाइ–४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१ का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास–३ का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगञ्ज–१६ का ३३ वर्षीय दिलिपकुमार ओझा, बाराको जितपुरसिमरा–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव, साथै भारतीय नागरिक ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोज कुमार सहनी, ५५ वर्षीय मो. रयाजुल र ३५ वर्षीय संजित पदार्थ रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १०३.८ केजी तामाको तार, चोरीका लागि प्रयोग गरिएका ५१ थान औजार र २ वटा ई–रिक्सा बरामद गरेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी टोलीका अनुसार भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम लामा र महोत्तरीका बुधे माझीसँग मिलेर एकान्त स्थानमा रहेका ट्रान्सफर्मरबारे सूचना सङ्कलन गर्ने गरेको पाइएको छ । त्यहाँबाट चोरी गरिएका तामाका तारहरू वीरगञ्जस्थित कबाडी पसलमा बिक्री गरिन्थ्यो ।

त्यस्तै, बाराका कृष्ण श्रीवास्तवको गढिमाई मेटल प्रालि रहेको र चोरी गरिएका ट्रान्सफर्मरबाट निकालिएको तामालाई पगाली भाँडाकुँडा उत्पादन गरी बेच्ने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँकासम्बन्धी चार मुद्दा, महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान, डाँका र अभद्र व्यवहारसम्बन्धी चार मुद्दा अदालतमा दर्ता रहेका छन् । प्रहरीले घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।