
काठमाडौं, १ मंसिर । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । आज राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
उनले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा आफ्ना १२ भाटभटेनी स्टोर पूर्ण रूपमा नष्ट भएको जानकारी दिए । अरू धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको उनले बताए ।
अझै पनि आफूले हिम्मत नहारेको उनले उल्लेख गरे । उनले अझै अघि बढ्ने अठोट व्यक्त गरे । भाटभटेनीमा दसैँतिहार र छठका निम्ति ‘स्टक’ गरिएका धेरै सामान आन्दोलनका क्रममा लुटिएको र जलाइएको उनले बताए ।
आफूमाथि धेरै युवाको जिम्मेवारी, बैंकको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड निकालेको उनले सुनाए । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि त्यसको कारण रहेको उनको बुझाइ छ ।
भाटभटेनीमाथि आक्रमण कुनै एउटा पार्टीको भवन बनाइदिने विषयले भएको भन्ने उनले उल्लेख गरे । राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने आफ्नो इच्छाको विषय भएको उनले बताए ।
आफूले डा. भगवान कोइरालाको नेतृत्वमा निर्मित बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाएको पनि उनले बताए ।









प्रतिक्रिया