
जनकपुर, ३० कात्तिक । जनकपुरधामका युवाहरुको एक समूहले मधेश प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग अघि सारेका छन् ।
स्वतन्त्र युवा समाजका युवा अगुवाहरुले आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेश राजनीतिक किचलोको सिकार भइरहेको भन्दै निकासका लागि प्रदेश सभा विघटन गर्न मागसहितको पत्र बुझाएका छन् ।
युवाहरुले पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई आग्रह गरेका छन् ।
प्रदेश सभाका सांसदहरुको लुछाचुडीका कारण प्रदेशको सम्पूर्ण मन्त्रालय, कार्यालयहरु अस्तव्यस्त भइसकेकोले देशको सार्वभौम सत्ता, राष्ट्रियतामा गम्भिर असर परेको पत्रमा उल्लेख रहेको छ । सोही कुराहरुलाई मध्येनजर गर्दै नेपालको संविधानको धारा २३२ को उपधारा ३ बमोजिम प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाई कम्तिमा ६ महिनाका लागि निलम्बन गरी वा विघटन गरी स्वतन्त्र नागरिकस्तरका सरकार गठन गरी मधेश प्रदेशमा संघीयता संस्थागत, सुशासन कायम गर्न युवाहरुले पत्रमार्फत आग्रह गरेका छन् ।








प्रतिक्रिया