
जनकपुर, २९ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीति अवस्थामा शान्तिसुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
आज जनकपुरधाममा भएको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उनले राजनीतिको नाममा भइरहेको बदमासी र उग्र कार्यलाई रोक्न गम्भीर हुनुपर्नेमा जोड दिए ।
बैठकमा प्रदेशमा विभिन्न पक्षबाट भइरहेको आन्दोलन तथा सुरक्षा चुनौतीका विषयमा छलफल भएको मधेस प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु कवाडीले जानकारी दिए । उनले पछिल्लो समयमा आन्दोलनका क्रममा कर्मचारी तथा प्रहरीमाथि भएको हातपातलगायत विषयमा पनि छलफल भएको बताए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशको शान्तिसुरक्षाका विविध पक्षमा छलफल भएको र सुरक्षा निकायलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने आश्वस्त पार्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिइएको बताए । सुरक्षा अवस्था सुदृढ बनाउन प्रदेश सरकारको प्रमुखको हैसियतले प्रतिबद्ध रहेको बताउँदै उनले शान्तिसुरक्षाका लागि आवश्यक गर्ने भौतिक, आर्थिक तथा नैतिक समर्थन रहने विषयमा सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारिएको बताए ।
बैठकमा मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रदेश प्रमुखका साथै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया