
तेह्रथुम, २९ कात्तिक । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले यो जागरण अभियान एमालेको मात्र नभएको बताएका छन् ।
एमाले तेह्रथुमद्वारा आज आयोजित जनजागरण आमसभालाई सम्बोधन गर्दै नेता ढकालले संविधानको रक्षा र संसद पुनर्स्थापनाका लागि सबै लोकतान्त्रिक दलहरु एक हुन आवश्यक रहेको बताएका हुन् । उनले जेनजी सरकारले घोषणा गरेको चुनावको लागि नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने समेत धारणा राखे ।
म्याङ्लुङको टुँडिखेलमा आयोजित जनजागरण सभामा एमाले तेह्थुमका इन्चार्ज विष्णुमाया विकले संविधान रक्षाको लागि जिल्लाका नागरिकहरुको सहभागितालाई आभार प्रकट गर्दै एमालेले गरेको आन्दोलनमा सबै दलहरुले एक्यवद्धता जनाउनुपर्ने बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एमाले तेह्रथुमका उपाध्यक्ष सन्तोष तिगेलाले नेपालमा राजनीतिक नियुक्ति पाएका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे । उनले जनप्रतिनिधि र कर्मचारीहरुको समेत सम्पति छानबिन गरेर सरकारीकरण गर्नुपर्ने धारणा राखे ।
जनजागरण अभियान एमाले तेह्थुमका अध्यक्ष शिवप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो । जनसभामा ६ वटै पालिकाका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सभाअघि म्याङ्लुङदेखि वसन्तपुरसम्म मोटरसाइकल र्याली निकालिएको थियो ।










प्रतिक्रिया