
गुल्मी, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले आफ्नो पार्टी चुनाव विरोधी नभएको बताएका छन् ।
एमालेले गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा नेताहरूले एमाले चुनावबाट विचलित हुने र के परिणाम आउँछ भनेर आत्तिने पार्टी नभएको भन्दै चुनावका लागि सरकारले निष्पक्षता र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्णराज विष्ट र नेत्री रामकुमारी झाँक्रीले सरकारले दलहरूलाई ढुक्कसँग मतदातासँग जान र मतदाताले पनि ढुक्कसँग मतदानस्थलसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उपमहासचिव ज्ञवालीले संसद् विघटनपछि देश शून्यतामा पुगेको आरोप लगाउँदै भदौ २३ र २४ को प्रदर्शनमा जेनजीका भावना र कलिला काँधमा चढेर देशलाई खरानी बनाउन अपराधीहरूले प्रतिगामी षडयन्त्र गरेको बताए ।
सचिव विष्टले लोकतन्त्रको विकल्प हुन नसक्ने भन्दै कार्यकर्तालाई निराश नबनी पार्टीमा थप ऊर्जाशील भएर लाग्न आग्रह गरे ।
नेत्री झाँक्रीले सरकारले निर्वाचनको वातावरण बनाउन नसके राष्ट्रिय सहमतिमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने धारणा राखिन् ।









प्रतिक्रिया