२१ असार २०८३, आइतबार

देश र जनताका निम्ति एमाले सतिसाल जस्तै भएर उभिन्छ : रामकुमारी झाँक्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलन राष्ट्रियता र नेपाली जनताविरुद्ध भएको आरोप लगाएकी छन् । एमालेमा फर्केपछि पहिलो पटक गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै जेनजी आन्दोलन संविधान विरुद्ध भएको जिकिर गरिन् ।

उनले भनिन्, ‘भदौको २३ र २४ गतेको घटनालाई हामीले असाध्यै कहालीलाग्दो र जीवनमा, हाम्रो जीवनमा, हामी बाँचेको समयमा कहिल्यै नदेखिएको यस्तो घटनाको रूपमा लिएका छौँ । यो किन भयो ? यो कसको विरुद्ध थियो ? यो कुरा आज जेनजी विद्रोहको नाममा आफ्नो स्टेबल र दाबी गरिरहने सबै साथीहरूलाई, सबै मित्रहरूलाई म भुलभुलैयामा नपर्नको लागि अनुरोध गर्न चाहन्छु । यो यत्तिकै भएको चीज थिएन ।’

उनले राष्ट्रियताको बारेमा शिर ठाडो पारेर अविचलित रूपमा सरकार अगाडि बढेपछि पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको बताइन् ।

उनले थपिन्, ‘सरकार र नेतृत्वका माथि यो एक प्रकारको अकल्पनीय घेराबन्दी र प्रहार थियो । त्यसको नेतृत्व थियो नेकपा एमालेको र त्यसले नेतृत्व गरेको थियो संयुक्त गठबन्धनको र त्यसको नेता हुनुहुन्थ्यो केपी शर्मा ओली ।’

२३ र २४ गतेको घटनाको जेनजी विद्रोहमा आफ्नो हिस्सेदारी यति सजिलै लिन नखोज्न आग्रह गरिन् ।

उनले भनिन्, त्यो किन भएको थियो? भन्दा यो देशको राष्ट्रियताको विरुद्धमा भएको थियो । नेपाली जनताको विरुद्धमा भएको थियो । नेपालको सार्वभौमिकता, सार्वभौम सत्ताको विरुद्धमा भएको थियो । ६२/६३ सालका ऐतिहासिक क्रान्तिका उपलब्धिको विरुद्धमा भएको थियो । र त्यो उपलब्धिलाई संस्थागत गरेको संविधानको विरुद्धमा भएको थियो। त्यसकारण तपाईँहरूले कसरी दाबी गर्न सक्नुहुन्छ कि त्यो विद्रोहमा हाम्रो साथ र समर्थन थियो भनेर ?

उनले राष्ट्र र जनताको निम्ति सतिसाल जस्तै भएर एमाले उभिने बताइन् । उनले भनिन्, ‘म आज २३ र २४ गतेदेखिका यताका घटनाक्रममा पार्टीको आन्तरिक जीवनसँग जोडिएर काम गरेको छु । तर स्मृतिमा र विस्मृतिमा म नेकपा एमालेसँगसँगै नै थिएँ । मेरा कयौँ अभिव्यक्तिहरूले ती कुरा भन्दै जान्छन् र म सार्वजनिक रूपमा आलोचित पनि भइरहेकी थिएँ ।’