२९ आश्विन २०८३, बिहिबार

घण्टौँदेखि १३२ केभीको हाइटेन्सन पोलमा किशोरी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । कविलासी नगरपालिका–२ की १७ वर्षीया किशोरी विद्युत्को हाइटेन्सन पोलको टुप्पोमा चढेर बसेपछि उनको उद्धारमा सुरक्षाकर्मी जुटेका छन्।

बिहीबार दिउँसो करिब साढे ४ बजे पोलमा चढेकी किशोरी तीन घण्टाभन्दा बढी समयसम्म पनि तल नझरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनी १३२ केभी विद्युत् प्रसारण लाइनको पोलमा बसेकी हुन्।

प्रहरीका अनुसार स्थानीयले किशोरी पोल चढिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बेदप्रसाद गौतमका अनुसार किशोरी हालसम्म सुरक्षित छिन्। परिवारका सदस्यबाट उनको मानसिक अवस्था सामान्य नरहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

तल रहेका अभिभावक तथा सुरक्षाकर्मीले पटक–पटक आग्रह गरे पनि किशोरी तल झर्न मानेकी छैनन्। अब सुरक्षाकर्मी आफैं पोलमा चढेर उनलाई सुरक्षित रूपमा तल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक शिव कट्टेल र अस्थायी प्रहरी पोस्ट हेम्पुर पचगछियाका प्रहरी सहायक निरीक्षक छविलाल साहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। किशोरीका आफन्तसमेत घटनास्थलमा उपस्थित छन्।

प्रहरीले विद्युत् प्रवाह पूर्ण रूपमा बन्द गराएर उद्धार प्रक्रिया अघि बढाइरहेको जनाएको छ।