
नवलपुर, २९ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवलखण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।
नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले हरेक दिन राति १० देखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए । “दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो,” उनले भने, “रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रूपमा सडक विस्तार भइरहेको छ ।”
दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उनले बताए । कार्यतालिकाबमोजिम प्रगति हासिल भएमा अबका १० दिनमा यो सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले जानकारी दिए ।
गैँडाकोटको यो भाग र दाउन्नेको पहाडबाहेक नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ । चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ ।
“दाउन्नेमा तीन किमि सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमि ढलानको काम भइरहेको छ,” उनले भने, “दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदै छ ।”
यो सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले जानकारी दिए । उनका अनुसार, नारायणगढ–बुटवलखण्डको ११४ किमिमध्ये पूर्वी खण्डमा ६५ र पश्चिम खण्डमा ४९ किमि पर्छ ।
यो खण्डको १०० किमि चार लेनमा तथा दाउन्नेको १४ किमि सडक तीन लेनमा विस्तार गरिँदै छ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्र सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताए ।
उनका अनुसार, विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ । रासस








प्रतिक्रिया