१३ असार २०८३, शनिबार

एमालेमाथि षड्यन्त्र गरिए कार्की सरकारलाई सिंहदरबारबाट लखेट्छौँ : महेश बस्नेत

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २९ कात्तिक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले पार्टी नेतृत्व केपी ओलीलाई छानबिनका नाममा बयान लिने र पक्राउ गर्ने षड्यन्त्र गरिए त्यसको प्रतिवाद गरिने बताएका छन् ।

बस्नेतले देशीविदेशीको षड्यन्त्रमा लागेर एमालेमाथि षड्यन्त्र गरिए कार्की नेतृत्वको सरकारलाई सिंहदरबारबाट लखेटिने उद्घोष गरेका हुन् । उनले जेनजी आन्दोलनमा नेपाली युवाहरुको काँधमा विदेशीहरूले बन्दुक राखेर पड्काएको टिप्पणी गरे ।

एमाले सिन्धुलीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै नेता बस्नेतले जेनजी आन्दोलनको मुख्य प्रहार एमाले र अध्यक्ष ओलीमाथि भएको पनि बताए । ओलीका नाममा चार वटा घर जलेको बताउँदै नेता बस्नेतले ओलीको घर जल्दा राष्ट्रिय सम्पदा जल्यो, पुस्तकालय जल्यो र राज्यको सम्पत्ति जलेको बताए । उनले सिंहदरबार, अदालत र राष्ट्रिय सम्पदाहरू जलाउनेहरु आतंकवादी जल्लाधारु र लुसिफर हुन् भने ।

‘आज प्रहरीको मनोबल खस्केको छ, हतियार लुटिएको छ ।’ बस्नेतले भने, ‘नयाँ पुस्ताले भत्काउन, लुट्न, मान्छे मार्न उकासे, त्यो उकास्ने लुसिफर हुन् सुदन गुरुङ ।’

बस्नेतले नेता ईश्वर पोखरेलहरुमाथि आक्रमण गर्ने प्रचण्डका स्यालहरुलाई एकदिन कारबाहीको दायरामा ल्याउने उद्घोष गरे । उनले गिरिबन्धु टी स्टेटका नाममा केपी ओलीलाई मुद्धा लगाउने षड्यन्त्र कहिल्यै सफल नहुने प्रस्ट पारे ।

नेता बस्नेतले जेनजी पुस्ताको माग एमालेको ११ महाधिवेशनबाट पूरा हुने बताए । उनले आउँदो निर्वाचनमा एमालेले जेनजीलाई सूर्य चिन्ह दिएर विजयी बनाउने उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले जेनजी उपद्रोहका नाममा नेपाल राष्ट्रलाई तहसनहस पार्ने काम भएको र त्यसलाई सिन्धुलीबासीले कदापी स्वीकार नगर्ने बताए ।

उनले २३ र २४ गते को घटनापछि बनाएको छानबिन समितिले गर्ने कुनैपनि निर्णयलाई आफूहरुले मान्यता नदिने उद्घोष गरे । उनले एमालेले मात्र अहिलेको संकटको समाधान गर्नसक्ने दाबी गरे ।

एमाले केन्द्रिय सदस्य उमा कोइरालाले एमालेमाथि भएको आक्रमणको प्रतिवाद गर्न जरुरी भएको बताइन् ।

जनसभामा स्वागत मन्तव्य राख्दै जिल्ला उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले एमालेलाई सिन्धुलीमा कमजोर नआक्न चेतावनी दिए ।