
काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले)ले आज देशैभरी जनसभा गर्दैछ ।
प्रतिगामी षडयन्त्रविरुद्ध जनपरिचालन कार्यक्रमअन्तर्गत आज अधिकांश जिल्ला सदरमुकाम वा ठूला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् ।
‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरी अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौँ’ गौतमले भने ।
गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरी वडा भेला भएको छ । २५ गते अधिकांश पालिकाहरुमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लाहरु जनसभा हुँदैछन् ।
जनपरिचालनको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नेछन् ।
यसैगरी, रुपन्देहीम हुने कार्यक्रममा सचिव छविलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको विर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नेछिन् ।
कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया