
–अन्जनी कुमार अधिकारी
उदयपुर, २४ कात्तिक । उदयपुरको त्रियुगा नगरपालिकामा नगर अस्पताल निर्माणका लागि भारत सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
भारतले अनुदान उपलब्ध गराउने भएपछि सोमबार त्रियुगा नगरपालिका र भारतीय दूतावासबीच अनुदान सहयोगको समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक कार्यक्रमकाबीच त्रियुगा नगरपालिका र भारतीय दूतावासबीच नगर अस्पताल निर्माणको अनुदान सहयोग लिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
भारतीय दूतावासले त्रियुगा नगरपालिका वडा नं. ५ देउरीस्थित नगर अस्पताल निर्माणका लागि २० करोड अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ ।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनका लागि भारतीय अनुदान सहायता (एचआईसीडीपी) कार्यक्रमअन्तर्गत अस्पताल निर्माणमा दुतावासले लगानी गर्ने नगरप्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिए ।
नगरप्रमुख बस्नेतका अनुसार भारतीय दूतावासको ९० प्रतिशत र त्रियुगा नगरपालिकाको १० प्रतिशत रकमले अस्पताल भवन र मेडिकल उपकरण खरिद गरिनेछ ।
एमओयूमा त्रियुगा नगरपालिकाको तर्फबाट नगरप्रमुख बस्नेत र दूतावासको तर्फबाट विकास साझेदारी एवंम पुर्ननिर्माण काउन्सिलर अविनाशकुमार सिंहले हस्ताक्षर गरेका छन् ।
दूतावासले बजेट दिने भएपछि आगामी एक हप्ताभित्र भवन निर्माणको टेण्डर आह्वान गरिने नगरप्रमुख बस्नेतको भनाई छ ।










प्रतिक्रिया