२१ असार २०८३, आइतबार

‘अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटनसमेत अलोकतान्त्रिक र असंवैधानिक’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २४ कात्तिक । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमा नरहेको बताएका छन् । सुरक्षा निकायबाट खोसिएका हतियार, भागेका अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उनले प्रश्न पनि गरे ।

प्रेस चौतारी नेपालले झापाको दमकमा सोमबार गरेको भेटघाट कार्यक्रममा दाहालले अहिलेको सरकार नै असंवैधानिक रहेको दाबी गर्दै यस्तो सरकारबाट लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाको अपेक्षा पनि गर्न नसकिने बताए ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका नेता दाहालले अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको समेत औचित्य र कानुनी आधार नरहेको उल्लेख गरे ।

‘अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटन समेत अलोकतान्त्रिक र असंवैधानिक रहेकाले एमाले संसद पुनर्स्थापनाको मागसहित जनताको बीचमा गएको छ’ दाहालले भने । अहिलेको राजनीतिक र संवैधानिक गतिरोधको अन्त्य संसद पुनर्स्थापनाबाटनै हुने समेत उनको भनाइ छ ।

यो विषयमा नेपाली कांग्रेसको अहिलेसम्मको मौनता समेत आश्चर्यजनक रहेको उल्लेख गर्दै दाहालले कांग्रेस पनि यो अजेण्डामा आउँदै गरेको बताए ।

जेनजीले अघि सारेका माग समेत संसद पुनर्स्थापनापछि गठन हुने सरकारले नै पूरा गर्ने उनको दाबी छ ।

केपी ओली नेतृत्वको सरकारले सुशासनको पक्षमा दर्बिलो काम गरिरहेको अवस्थामा जेनजी आन्दोलनमा घुसपैठ गरी हिंसाको माध्यमबाट सरकार विस्थापन गरिएको भन्दै उनले यस क्रममा भएका आगजनी, हिंसा र तोडफोडमा संलग्नहरुको खोजी गरी कानुनी दायरामा ल्याउन ढिला गर्न नहुनेमा जोड दिए ।

यसैगरी, एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले संसद पुनर्स्थापनाको पक्षमा जिल्लामा सशक्त रुपमा जनपरिचालन भइरहेको जानकारी दिए । कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, एमाले झापा उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राम पौडेल, अनेमसंघ अध्यक्ष लिला दाहाल लगायतको आतिथ्यता रहेको थियो ।