
–अन्जनी कुमार अधिकारी
उदयपुर, २२ कात्तिक । उदयपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीले जिल्लामा दिगो शान्ति र स्थायित्व कायम गर्नका लागि स्थानीय सरकार, सुरक्षा संस्था, नागरिक समाज, राजनीतिक दल, युवा, पत्रकार र सर्वसाधारण सबै पक्ष आ–आफ्नो भूमिकाप्रति जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शनिबार चौदण्डीगढी नगरपालिकामा आयोजित पूर्वप्रहरी संगठनको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रजिअ जोशीले यस्तो धारणा राखेका हुन् ।
प्रजिअ जोशीले पछिल्ला दिनमा ‘जेनजी आन्दोलन’पछि जिल्लाको शान्ति, सुरक्षाको अवस्थामा केही अस्थिरता आएको उल्लेख गर्दै त्यसलाई हटाउन सबै पक्ष एकै धारमा उभिएर शान्ति र सुरक्षाको सुदृढीकरणमा जुट्न जरुरी रहेको बताए ।
उनका अनुसार आन्दोलनका क्रममा केही समय जिल्लाको सुरक्षात्मक संयन्त्र कमजोर भए पनि अहिले पुनः त्यसलाई चुस्त, सक्षम र समन्वित बनाउने दिशामा सरकार र सुरक्षा संस्थाहरू लागिपरेका छन् ।
पूर्वप्रहरी ‘बर्दीविहीन प्रहरी’
प्रजिअ जोशीले जिल्लाको शान्ति सुरक्षालाई स्थिर बनाउन पूर्वप्रहरीहरूले पनि आफ्नो अनुभव, ज्ञान र सीपलाई समाजमा सकारात्मक रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले पूर्वप्रहरीहरू ‘बर्दीविहीन प्रहरी’ भएको भन्दै उनीहरूको योगदान आज पनि उत्तिकै आवश्यक रहेको औंल्याए ।
‘नकारात्मक सोच राष्ट्रिय एकताको चुनौती’
प्रजिअ जोशीले सामाजिक चेतनाको स्तर घट्दै गएको र समाजमा नकारात्मक सोचले बल पाउँदै गएको गम्भीर चिन्ता व्यक्त गरे ।
उनले अहिलेको पुस्ता सामाजिक सञ्जालमा देखिएका विषयलाई नै सत्य ठान्दै ‘आलोचना मात्रै गरेर देशमा केही भएन’ भन्ने मानसिकता बढ्दै गएको बताए, जुन राष्ट्रिय एकता र स्थायित्वका लागि चुनौती हो भने । उनले मोबाइलको उपलब्धतालाई उदाहरण दिँदै परिवर्तनलाई सकारात्मक रूपमा लिन नसक्ने र ‘देशमा केही भएन’ भन्ने भ्रममा नेपालीहरू बाँधिएको धारणा राखे ।
शान्तिको जग नागरिकको चेतनामा
प्रजिअ जोशीले उपस्थित पूर्वप्रहरी, स्थानीय प्रतिनिधि र नागरिकलाई समाजमा सकारात्मक सोच, आपसी सद्भाव र जिम्मेवार व्यवहार अपनाउन आग्रह गरे । उनले देशको विकास, स्थायित्व र सुरक्षाको जग नागरिककै चेतनामा बन्नुपर्ने बताउँदै भने, ‘जब हामी आफैं जिम्मेवार बन्छौँ, तब मात्र देश, समाजमा स्थायी शान्ति सम्भव हुन्छ ।’
नेपाल पूर्वप्रहरी संगठन चौदण्डीगढीको अध्यक्षमा पराजुली
शनिबार सम्पन्न चौदण्डीगढीको प्रथम भेलाले नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक कृष्णकुमार पराजुलीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लालबहादुर प्रधान कोषाध्यक्षमा गणेश थापा, सचिवमा तुलसी वान्जरालाई चयन गरेको छ । सदस्यहरुमा लक्ष्मीकुमार थापा, नारायण तामाङ, श्याम प्रधान, नवराज खड्का, कुमारी राई, मिना ढकाल, सूर्यकुमार श्रेष्ठ र उमादेवी राई चयन भएका छन् ।
कार्यक्रम चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहिद परिवारका सदस्यहरू र जेष्ठ पूर्वप्रहरी सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।










प्रतिक्रिया