४ श्रावण २०८३, सोमबार

आयल निगमको आयोजनामा ‘रन फर हेल्थ’ प्रतियोगिता सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । नेपाल आयल निगमले ‘रन फर हेल्थ’को नारासहित पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरेको छ ।

आयल निगमको सिनामंगलस्थित डिपोको आयोजनामा शनिबार बिहान दशरथ रंगशालामा मनोरञ्जनात्मक कार्यक्रमअन्तर्गत दौडको आयोजना गरिएको हो ।

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले खेल राष्ट्रिय पहिचानको माध्यम भएको बताए । उनले देशको आर्थिक समृद्धिमा खेलले ठूलो अर्थ राख्ने भन्दै खेलले व्यक्तिको इमोसनल र फिजिकल डेभलपमेन्टलाई पनि माथि पुर्याउने बताए ।

कार्यकारी निर्देशक भट्टले आयल निगमले पेट्रोलियम पदार्थको आयात, बिक्री वितरण र भण्डारण मात्र नभएर शिक्षा, स्वास्थ्यसहितका सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको बताए ।

यसैगरी, सिनामंगलस्थित डिपोका प्रमुख ईन्जिनियर प्रदीप यादव, बागमती पेट्रोलियम एसोसिएसनका अध्यक्ष अच्युत खड्का, पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोज दास, पत्रकार पेशल आचार्य, अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लगायतले खेल र स्वास्थ्यबारे धारणा राखेका थिए ।

दौडमा पुरुष १० किलोमिटरतर्फ प्रदीप भण्डारीले ५३ मिनेट १० सेकेन्डमा तोकिएको दुरी पार गर्दै प्रथम भए ।

यसैगरी, दोस्रो हुनेमा दिगम्बर पन्तले ५४ मिनेट ४६ सेकेन्डमा पार गरे भने मनोजकुमार दास तेस्रो भए । उनले ५६ मिनेटमा तोकिएको दुरी पार गरे ।

यसैगरी, महिलातर्फ सुमना सापकोटा प्रथम हुँदा उनले ३२ मिनेट ९ सेकेन्डमा ५ किलोमिटर दुरी पार गरिन् ।

यस्तै, दोस्रो सर्मिला कटुवालले ३३ मिनेट ३९ सेकेन्ड र राजकुमारी राईले ३५ मिनेट ४९ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरिन् । प्रतियोगितामा आयल निगमका कर्मचारी र पत्रकार गरी १२० जनाको सहभागिता थियो ।