३० आश्विन २०८३, शुक्रबार

दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोले सोमबार रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परेर चारजना विदेशी नागरिक मात्रै बेपत्ता भएको जानकारी दिएका छन् ।

दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको बेसक्याम्पनजिकै हिजो हिमपहिरो जाँदा दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो । घटनालगत्तै स्थानीय प्रशासनले हिम पहिरोमा परेर आठ जना बेपत्ता भएको जानकारी दिएको थियो ।तर, डीएसपी महतोले अहिलेसम्म चारजना विदेशी नागरिक मात्रै बेपत्ता भएको पुष्टि गरे । ‘ती चारैजना विदेशी आरोही हुन्,’ उनले भने, ‘बेपत्ता हुनेमा नेपाली छैनन् भन्ने सूचना हामीले पाएका छौँ ।’

घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धारको काम गरिरहेको उनले बताए । ‘हिम पहिरोमा परेर घाइते भएका चार जनालाई घटनास्थलबाट उद्धार गरेर आज बिहान उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाएका छौँ,’ उनले भने, ‘तीनवटा डेथबडी अहिले पनि घटनास्थलमै छ ।’

प्रहरी र सेनाको उद्धार टोली हिजै घटनास्थलतिर गएको भए पनि आज बिहानबाट मात्रै उद्धारको काम सुरु भएको उनले बताए । हिम पहिरो गएको ठाउँमा सातजना नेपाली र सातजना विदेशी गरि जम्मा १४ जना मात्रै गएका खुलेको डीएसपी महतोको भनाई छ ।

हिम पहिरोमा परेर घाइते भएका चारजना घाइते अवस्थामै बेसक्याम्प आइपुगेका थिए । उनीहरूले खबर गरेपछि मात्रै आरोहीहरू हिम पहिरोमा परेको खुलेको थियो । मृतक र घाइतेको नाम भने प्रहरीले अझै खुलाएको छैन ।