१५ असार २०८३, सोमबार

११ दिनदेखि बेपत्ता सुनार मृत फेला

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, १४ कात्तिक । जिल्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंङ सुनार मृत अवस्थामा भेटिएका छन् । एघार दिनदेखि बेपत्ता भएका सुनार आज सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुनार यही कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि हिँडेका उनका आफ्न्त धनवीर सुनारले बताए । “घरका लागि विद्युत्को मिटरबक्स किन्न सदरमुकाम जानुभएको थियो । प्रहरी र स्थानीयसँगको सहकार्यमा खोजी गर्दा आज बरगाउँको लबली डाँडाभन्दा केही तल शव फेला परेको हो”, उनले भने ।

सुनारको कात्तिक ७ गतेदेखि नियमित खोजी भइरहेकामा आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । “लामो समयसम्म सुनार घर नफर्किएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए । निवेदन दिए लगत्तै प्रहरी प्रशासनले परिवारको समन्वयमा खोजी गरेको हो”, उनले भने ।

सुनारको शव भेटिएको भन्ने जानकारी आए लगत्तै प्रहरी निरीक्षक विष्णु श्रेष्ठ नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

मृतकको शव परीक्षणका लागि सदरमुकाम सिमकोट ल्याइने प्रहरीले जनाएको छ ।