
काठमाडौं, १२ कात्तिक । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ । यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो ।
सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आ.व. २०८१/८२ को असार मसान्तसम्ममा कुल बीमा शुल्कको हिसाबले २७ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ ।
कम्पनीको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत रहेको छ जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम अनुपात भन्दा बढी हो । कम्पनीले करिब ९४ प्रतिशत लगानी स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्तसम्ममा औसत १०.०२ प्रतिशत प्रतिफल प्रदान गरेको छ । आ.व. २०८०/८१ मा कम्पनीले २.१२ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८ प्रतिशत प्रतिफल रहेको थियो ।
नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको छ । जीवन बीमा क्षेत्रको अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वबाट कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ । यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गर्दछ ।
कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्याएको छ । साथै, आ.व.२०८१/८२ को असार मसान्तसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, जुन कम्पनीको व्यवसायिक आकार अनुसार पर्याप्त छ ।
त्यस्तै, कम्पनीको २३३ अर्बभन्दा माथिको जीवन बीमा कोष र २४० अर्बभन्दा माथिको लगानी रहेको छ । कम्पनीले असार मसान्त सम्ममा ६७ अर्बभन्दा माथिको दाबी भुक्तानी गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले डबल ए माइनस रेटिङ प्राप्त गरेकोमा कम्पनीलाई यस रेटिङ प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे । साथै, कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाउनका निम्ति जोखिम न्यूनीकरणका उपकरणहरूको अधिकतम प्रयोग गर्ने तथा लगानी विविधिकरणलाई प्राथमिकतामा राख्दै लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको प्रयोग गर्न कम्पनी कटिबद्ध रहेको बताए ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनीहरु, नियामक निकायहरू तथा सहयोग गर्ने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।








प्रतिक्रिया