
काठमाडौं, ३१ असोज । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायत सभा समक्ष प्रस्तुत प्रस्तावहरू एकमतले पारित गर्दै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शिवम् होल्डिङ्स नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्सको ८५ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनी हो । बाँकी १५ प्रतिशत शेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो पटक (२०८१/०८२ सम्म) शेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ ।
कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड रुपैयाँ मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र हाल स्वीकृतिको प्रतिक्षामा रहेको जानकारी गराएको छ ।
शिवम् होल्डिङ्सले नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमता भएको होशी शिवम् सिमेन्ट प्रालिमा आफ्नो महत्वपूर्ण शेयर लगानी गरेको छ । कम्पनीमा ३० प्रतिशत नेपाली (शिवम् होल्डिङ्स लिमिटेड) र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ ।
गण्डकी प्रदेशको पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको अत्याधुनिक प्रविधियुक्त उद्योगले दैनिक ६,००० मेट्रिक टन क्लिनकर र सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता राख्दछ । साथै, उद्योगमा प्रयोग भएको मेसिनरीबाट उत्पन्न वेस्ट हीटबाट करिब १२ मेगावाट विद्युत् शक्ति उत्पादन गरी आफैं प्रयोग गरिने व्यवस्था रहेको छ । उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा रही पछिल्ला पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । कम्पनीले आफ्ना शेयरधनीहरू, साझेदारहरू र सरोकारवालाहरूलाई निरन्तर विश्वास, समर्थन र सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ ।









प्रतिक्रिया