२३ असार २०८३, मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक : पहिलो दिन ५० जना सदस्यले राखे धारणा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा (एमाले) को आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ५० जना सदस्यले आफ्नो धारणा राखेका छन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको नेपालको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष राजनीतिक प्रस्ताव माथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सदस्यहरूले अन्तरिम सरकारको गठन प्रक्रिया, प्रतिनिधि सभा विघटन लगायतका सन्दर्भमा पार्टीको धारणा, सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन र निर्वाचनमा एमालेको उपस्थितिको सवाल, पार्टीले गर्ने जनपरिचालन र संगठन परिचालन, लोकतन्त्र र संविधान रक्षाका लागि राजनीतिक दलसँगको सहकार्य, त्यसको अन्तर्य र प्रभाव लगायतका विषयमा सदस्यहरूले धारणा राख्नु भएको गौतमले बताएका छन् ।

३ सय ६० जनाले बोल्नु पर्नेमा आज ५० जनाले मात्र धारणा राख्नु भएको उनले जानकारी दिए । पुनः भोलि बिहान ८ बजेबाट बैठक प्रारम्भ हुने र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने गौतमको भनाइ छ । केन्द्रीय सदस्यहरूले राखेका धारणा माथि पर्सी पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पार्ने गौतमले बताए ।

केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलन र सरकारको भूमिका लगायतका विषयमा जिज्ञासा राख्नु भएको उनले जानकारी दिएका छन् । भदौ २३ र २४ को त्रासदीपूर्ण घटनाको निष्पक्ष छानबिन हुनु पर्ने धारणा केन्द्रीय सदस्यले राखेका गौतमले बताए । अहिलेका छानबिन समितिका संयोजक सुरुमा नै पूर्वाग्रही भएकाले निष्पक्ष उच्चस्तरीय छानबिन हुनुपर्ने माग केन्द्रीय सदस्यहरूले राखेका थिए ।

संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन आन्दोलन उठाउने कुरा वृहत् रूपमा उठेको बताउँदै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय पनि छुटफुट रूपमा उठेको जानकारी दिए ।