११ असार २०८३, बिहिबार

मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने कारबाहीमा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २८ असोज । प्रहरीले पोखरामा स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरिएका र चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गर्न सुरू गरेको छ । केही दिनयता त्यस्ता चार मोटरसाइकल र तिनका चालकलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने सुवास कार्की, पोखरा–३ बस्ने एल्विन पुन, पोखरा–६ का सञ्जिव दुवाडी र पोखरा–५ बस्ने अमृत चापागाईंलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ कारबाही गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीचौकी र ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिँदै आएको उनको भनाइ छ ।

प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनियता कायम राखिने जनाइएको छ । कास्की प्रहरीले गतवर्ष अभियानका रूपमा यस प्रकृतिका मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गरेको थियो ।

स्वीकृति नलिइ सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुनेखालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

सहरी क्षेत्रमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल कुदाउँने प्रवृत्ति छ । यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषणले समाजमा असर पुर्‍याउने प्रहरीको भनाइ छ ।