काठमाडौं, २६ असोज । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गतको फेलोसिप र सर्टिफिकेट कोर्सका लागि नयाँ समूहमा आवेदन खुलाएको छ।
बैंकका अनुसार १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले आगामी कात्तिक २८ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यसपटकको कार्यक्रमलाई देशको विकास, गरिबी निवारण र सशक्तीकरणमा केन्द्रित गरिएको बताए। “मुलुकको विकासका लागि सामाजिक उद्यमीहरूको सशक्तीकरण नै सबैभन्दा प्रभावकारी माध्यम बनेको छ,” उनले भने।
उनका अनुसार, नबिल एसएसईमार्फत पछाडि पारिएका समुदायसम्म पुग्ने, उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालन गर्ने र वित्तीय नवप्रवर्तन प्रवर्द्धन गर्दै समावेशी विकास र रोजगारी सृजनामा ध्यान दिइएको छ।
नबिल एसएसई अन्तर्गत दुई कार्यक्रम, फेलोसिप र सर्टिफिकेट कोर्स सञ्चालनमा छन्। हाल छैटौँ समूहका लागि फेलोसिप कार्यक्रममा आवेदन खुलाइएको हो, जुन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्यमा सञ्चालन हुँदै आएको छ।
छ महिनाको फेलोसिपमा सामाजिक उद्यमीहरूले विश्वस्तरीय प्रशिक्षण, मेन्टरसिप, नेटवर्किङ र वित्तीय पहुँचका अवसर पाउनेछन्। हालसम्म ७६ जना सहभागी भइसकेका छन् र तीमध्ये ६२ जना आफ्ना उद्यम सञ्चालन गरिरहेका छन्।
त्यस्तै, सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा तीन महिनाको अवधिका लागि विभिन्न शैक्षिक संस्थासँग सहकार्यमा सञ्चालन भइरहेको छ। हाल यो कार्यक्रम कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख कलेजहरूमा सञ्चालन भइरहेको बैंकले जनाएको छ।
यस वर्षदेखि प्रत्येक प्रदेशमा स्थानीय प्राथमिकताअनुसार फरक विषयहरूमा कोर्स सञ्चालन गरिनेछ । जस्तै, कोशीमा हाइ–भ्यालु क्रप्स, मधेसमा एग्रो भ्यालु चेन, बागमतीमा डिजिटल नवप्रवर्तन र हरित उद्यम विकास, गण्डकीमा सामुदायिक होमस्टे र पर्यटन प्रवर्द्धन, लुम्बिनीमा धार्मिक पर्यटन र कृषि उद्यमशीलता, कर्णालीमा मौरीपालन, बाँस र जडीबुटीजन्य उद्यम, र सुदूरपश्चिममा ग्रामीण पर्यटन र पशुपालन उद्यम प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ।
हालसम्म सर्टिफिकेट कोर्समार्फत १,०६९ जना सहभागी लाभान्वित भइसकेका छन्। नबिल बैंकका अनुसार, यी कार्यक्रममार्फत १७ हजारभन्दा बढी रोजगारी सिर्जनामा सहयोग पुगेको छ।
आवेदन नबिल बैंकको अधिकृत वेबसाइट र नबिल एसएसईका सामाजिक सञ्जालमार्फत गर्न सकिनेछ। नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, उद्यमशीलता, स्वास्थ्य, शिक्षा, विपद् न्यूनीकरण र जलवायु परिवर्तनका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।
https://www.nabilbank.com/corporate-social-responsibility/nabil-school-of-social-entrepreneurship लिंकमा क्लिक गरेर आवेदन दिन सकिनेछ ।








प्रतिक्रिया