
काठमाडौं, १९ असोज । काठमाडौंसहित देशका विभिन्न स्थानमा हालै भएका जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, लुटपाट र अराजक गतिविधि सञ्चालन गर्नेहरूलाई कानूनी कारबाही गर्न माग गरिएको छ ।
गृह मन्त्रालयलाई सम्बोधन गरी नागरिक अभियन्ता धर्मराज तिमल्सिनाले पेस गरेको निवेदनमा जेनजी आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, नागरिक निर्माणका कार्यमा अवरोध पुर्याउने र सामुदायिक शान्ति सुरक्षामा असर पार्ने कार्यहरू योजनाबद्ध रूपमा गरिएको भन्दै जिम्मेवार व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गरी कानूनी कारबाही गर्न आग्रह गरिएको छ ।
निवेदनमा भनिएको छ, “संविधानले सुनिश्चित गरेको स्वतन्त्र अभिव्यक्ति र शान्तिपूर्ण आन्दोलनको अधिकार प्रयोग गर्नु प्रत्येक नागरिकको हक हो तर त्यसको आडमा आगजनी, तोडफोड र लुटपाटजस्ता आपराधिक गतिविधि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।”
पत्रमार्फत तिमल्सिनाले चार मुख्य माग अघि सारेका छन् —
१. अराजक कार्यमा संलग्न व्यक्तिहरूको छानबिन गरी कानूनी कारबाही गर्न ।
२. आन्दोलनका क्रममा क्षति बेहोरेका पीडितलाई राहत प्रदान गर्न ।
३. सार्वजनिक, निजी सम्पत्ति तथा नागरिकको शान्ति–सुरक्षाको संरक्षणका लागि प्रभावकारी कदम चाल्न ।
४. कानूनको शासन स्थापना गर्दै शान्ति र स्थायित्व कायम गर्न ।
निवेदनमा यस घटनाबाट राज्य र नागरिकबीचको विश्वास कमजोर भएको र यस्ता गतिविधिले भावी पुस्तामा नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ । साथै, राज्यका सुरक्षा निकायलाई संयमित भएर अपराध नियन्त्रण र पुनरावृत्ति रोक्नेतर्फ जोड दिन आग्रह गरिएको छ ।









प्रतिक्रिया