७ असार २०८३, आइतबार

आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौं

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मातृका देवकोटा

भनिन्छ कि त परेर जानिन्छ कि त पढेर जानिन्छु र यो भाष्य मेरो जीवनमा एक अब्बल सत्यको रूपमा स्थापित भएको छ । मैले मेरो जीवनमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामको बारेमा पढेरभन्दा परेर धेरै कुराहरु सिक्दैछु ।

म गोर्खाको पालुंगटारमा जन्मिए । सानैदेखि केहीं कुरा पनि असम्भव छैन भन्ने मेरो अहम महत्वाकांक्षा थियो । म विशेषगरी गौतम बुद्धको जीवनबाट अभिप्रेरित थिए जसले परिश्रमबाट नै बुद्धत्व प्राप्त गर्न सकिन्छ भनेका थिए । मेरो जीवनकालमा पनि मैले केहीं विशेष योगदान गरेर चिनिने दृढ अठोट थियो । तर दुर्भाग्यवश, म १५ वर्षको हुदाँ मेरो मन र शरीरमा एक्कासी नकारात्मक परिवर्तन हुँदै आयो । सुरुवातमा भोक हराउँदै गयो । मैले दैनिक रुपमा थकित महसुस गर्न थाले । मेरो अध्ययनमा पनि गिरावट हुँदै गयो र पूर्णविराम लाग्यो । यो क्रम म १९ वर्षको हुदाँसम्म झनझन बढ्दै गयो । हरेक दिन मलाई उज्यालोसँग डर लाग्थ्यो किनभने उज्यालोको समयमा दर्जनौ मानिसहरुले दिएका अर्तिबुद्धि र लाञ्छना मैले सुन्नु पर्थ्यो ।

अर्कोतर्फ, मेरो मानसिक स्थिति दिन प्रति दिन गिरावट हुँदै गयो । झन्डै म २५ वर्षको हुदाँ मात्रै मानसिक स्वास्थ्य समस्या भएको थाहा पाएँ । तत्पश्चात, मनोचिकित्सक परामर्शसँगै विभिन्न औषधिहरु सेवन गर्दै थिएँ । करिब ३ महिनापछि मानसिक स्वास्थ्य समस्याका लक्षणहरु कम हुँदै गयोस म फेरी निदाउन सक्ने भएँस खानाहरु रुच्न थाल्यो ।

वर्षौंदेखि गरिबीले च्यापेका मेरा बुबाआमाको मुहारमा केहीं उज्यालो देख्न थाले जब म बिस्तारै आयआर्जनको लागि नजिकैको विद्यालयमा पढाउने काम सुरु गरे । तर मैले कापीकलम चलाउन छोडेको वर्षौं भएको थियो । पढाउन थालेको तेश्रो दिनमा मेरो आफ्नो आत्मविश्वास आखाँ कै सामुन्ने हराएको देखें । अब म यो काम गर्न सक्दिन भन्ने कुरामा निश्चित भएँ । आफ्नो जीवनकालमा बुबाआमाको लागि केही गर्न सक्दिन भन्ने डरले छोप्दै गयो । जीवनमा आफुले पाएको दु:खभन्दा पनि आफ्नो प्रियजनहरुले पाएको दु:ख सहन सारै गाह्रो हुँदो रहेछ । त्यस दिन मलाई आफैँसँग हारेको महसुस भयो । अन्ततस् मैले आफ्नो प्राण त्याग्ने निधो गरेंस आत्महत्याको प्रयास गरे !

सौभाग्यवस म बाचें १ ७२ घण्टा पछी अस्पतालको बेडमा मैले आफुलाई पाएँ । त्यस दिन, मेरो लागि अन्त्य थिएन रहेछ भन्ने महसुस भयो । अहिले आएर नियाल्दा, त्यो दिन मेरो लागि अर्को नयाँ अध्यायको सुरुवात थियो र एउटा नयाँ उर्जा लिएर मैले आफुजस्तै मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरुका लागि आफ्नो जीवन समर्पण गर्ने निधो गरे । यससँगै कोशिशको सुरुवात भयो जसले हजारौँ मानसिक स्वास्थ्य समस्या र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्दै आई रहेको छ ।

आत्महत्या एक विश्वव्यापी संकटको रूपमा उदाउँदै आईरहेको छ जसले विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष सात लाख भन्दा बढी व्यक्तिहरूको ज्यान लिई रहेको छ र नेपाल पनि यो संकटबाट अछुतो छैन । नेपालमा पनि आत्महत्याको समस्या बढ्दो छ तर अपेक्षाकृत रूपमा यस क्षेत्रमा आत्महत्याको न्यूनीकरणहरुका कामहरु उल्लेखनिय रूपमा अगाडी बढ्न सकेको छैन । नेपालको परिप्रेक्ष्यमा दैनिक जस्तो २० जनाभन्दा बढीले आत्महत्या गरेको पाइन्छ (स्रोत: नेपाल प्रहरी २०८१/८२) । सोहि तथ्यांक अनुसार नेपालमा वार्षिक सात हजारभन्दा बढी आत्महत्याका केसहरू रिपोर्ट हुने गरेका छन् । तर यी तथ्यांकहरूको आधारमा समस्याको वास्तविक अवस्थालाई कम आँकलन गर्ने सम्भावना बढ्दो छ किनकि धेरै आत्महत्याका केसहरू कलंक र ‘समाजले के भन्लान्’ भन्ने डरले रिपोर्ट नगरिएका हुन्छन् । खासगरी नेपालमा व्यक्तिले आत्महत्या गर्ने कारणहरु मध्य गरिबी, बेरोजगारी, शिक्षाको अभाव, सामाजिक दुरी र उचित उपचार नगरिएको वा नपाएको मानसिक स्वास्थ्य समस्या लगायतका कारणहरू छन् । सतही रूपमा हेर्दा, यो भयानक तथ्यांक र स्थितिले व्यापक आत्महत्या रोकथामका रणनीति र मानसिक स्वास्थ्य सहायता प्रणालीहरूको तत्काल आवश्यकतालाई त अवश्य जोड दिन्छ । तर के आत्महत्याको मूल कारण वा वस्तुस्थितिमा नै सिमित छ त ? पक्कै पनि छैन !

नेपाल वा भनौं विश्वव्यापी रूपमा नै आत्महत्या प्रति व्यक्ति, समाज र राज्यको कलंकित दृष्टिकोण छ जसले आत्महत्याको सोच भएका व्यक्तिहरूलाई आफ्नो कुरा अरुलाई सुनाउन र मद्दत खोज्नबाट रोक्छ । यसले गर्दा उनीहरु चुपचाप पीडामा बस्न र अन्ततस् आत्महत्या गर्न बाध्य हुन्छन् । त्यसैगरी, आत्महत्या बारे रहदैं आएको भ्रमहरुमध्ये ‘आत्महत्या व्यक्तिको कमजोरी वा कायरताको कारणले हुने’ भन्ने भ्रम छ जुन निकै असहनशील, डरलाग्दो र हानिकारक छ । यसले आत्महत्याको सोचसँग संघर्ष गरिरहेका व्यक्तिहरूलाई झनै आत्महत्या गर्ने बाटोतर्फ धकेल्छ र उनीहरूलाई मद्दत खोज्नबाट निरुत्साहित गर्दछ । यस्ता भ्रमले आत्महत्याको जोखिममा भएका व्यक्तिहरुलाई दोष्याउने र आत्महत्याको दरलाई बढाउने बाहेक अरु केहि गर्दैन । तर सत्य यो हो कि आत्महत्या व्यक्तिको कमजोरीको लक्षण होइन ।

यो त आत्महत्याको जोखिममा रहेका व्यक्तिहरुको वरीपरिको वातावरण र ती व्यक्तिहरुको समस्या सुन्ने कान र धैर्यताको अभावको परिणाम हो । सत्य यो पनि हो कि आत्महत्या गर्ने सोच भएका व्यक्तिहरु जहिलेतहिले आफ्नो समस्या कसैलाई भन्ने बाटो खोजि रहेका हुन्छन्स उनीहरू असहनीय पीडाबाट राहत खोजि रहेका हुन्छन् तर दुस्खद कुरा उनीहरुले राहत पाउँदैनन् । वास्तवमा, आत्महत्या कहिले पनि व्यक्ति एक्लैको मात्र विषय थिएन, होइन र हुनेछैन । आत्महत्या जति व्यक्तिको विषय हो, त्योभन्दा कैयौं गुणा यो वातावरण, समाज र राज्यको विषय हो । त्यसैले, यस संकटलाई सम्बोधन गर्न र जरैदेखि हटाउन आत्महत्या प्रतिको भ्रम र गलत धारणाहरूलाई चुनौती दिँदै आत्महत्या प्रतिको दृष्टिकोण बदल्न जरुरी छ ।

हरेक वर्षझैँ यो वर्ष पनि सेप्टेम्बर १० का दिन हामी ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाउँदैछौं । आत्महत्या रोकथाम बारे संवाद सुरू गरौँ, दृष्टिकोण बदलौुं भन्ने नारामा आधारित यस दिवसमा पनि पक्कै विभिन्न कार्यक्रम, गोष्ठी, प्रचारप्रसार आदिईत्यादी मार्फत जनचेतना फैलाउने काम गर्छौँ । परन्तु सेप्टेम्बर ११ पश्चात फेरी पनि त्यहीं कलंकित सोच र वातावरणको उपज पो हुन पुग्ने कि रु यो निकै गहन प्रश्नले विगत धेरै वर्षदेखि सार्थकता पाउँदै आईरहेको छ । त्यसैले ‘एक थुकी सुकी, सय थुकी नदी’ भनेझैं तपाई/हामी हरेकले आत्महत्या प्रतिको दृष्टिकोण बदल्न र खुलेर कुरा गर्न जरुरी छ । आत्महत्याको जोखिममा परेका व्यक्तिलाई दोष दिएर उम्किनु भन्दा उसको वरीपरिको वातावरण सुधार्न जरुरी छ । सबैभन्दा महत्वपुर्ण कुरा, राज्य जो हामी सबैको अभिभावक हो, उसले आत्महत्याको विषयलाई अंग्गिकार गरि राष्ट्रियस्तरको नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्नु पर्दछ ।

(देवकोटा कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन का कार्यकारी निर्देशक हुन् ।)