
काठमाडौँ, १८ भदौ । डिजिटल वालेट खल्तीले दशैँको अवसर पारेर आफ्ना प्रयोगकर्ताका लागि खल्तीबाट खल्ती अकाउन्टमा रकम पठाउँदा लाग्ने शुल्क हटाएको छ । कम्पनीले दशैँमा दक्षिणा तथा अन्य रकम लेनदेनलाई सहज र निःशुल्क बनाउने उद्देश्यले यो सुविधा ल्याएको हो ।
नयाँ व्यवस्थासँगै अब खल्ती प्रयोगकर्ताले एक अर्कालाई असीमित पटक कुनै पनि अतिरिक्त शुल्कबिना रकम पठाउन सक्नेछन् । यसअघि खल्तीले दैनिक तीन पटकसम्म मात्र निःशुल्क रकम पठाउन सकिने र त्यसपछिका कारोबार तथा ठुलो रकम पठाउँदा १० रुपैयाँसम्म शुल्क लिने गरेको थियो ।
यो निःशुल्क कारोबारको सुविधा प्रयोगकर्ता–देखि–प्रयोगकर्ता र पस÷एजेन्ट–देखि–पस÷एजेन्ट बीचको कारोबारमा लागु हुने कम्पनीले जनाएको छ । यसका साथै पस÷एजेन्टबाट प्रयोगकर्ताको खल्तीमा वा प्रयोगकर्ताबाट पस÷एजेन्टको खल्तीमा रकम पठाउँदा पनि कुनै शुल्क लाग्ने छैन ।
दशैँको समयमा हुने पारिवारिक जमघट, रमाइलो र दक्षिणा आदानप्रदानको संस्कृतिलाई डिजिटल माध्यमबाट अझै सरल र सुविधाजनक बनाउन यो कदम चालिएको खल्तीले उल्लेख गरेको छ ।
प्रयोगकर्ताले खल्ती एप खोली ‘सेन्ड मनी’ मा ट्याप गरेर प्राप्तकर्ताको खल्ती मोबाइल नम्बरमा रकम हालेर निःशुल्क पैसा पठाउन सक्छन् ।









प्रतिक्रिया