
काठमाडौं, १७ भदौ । हङकङस्थित नेपाली समुदायको लामो प्रयासपछि ‘गोरखा फाइनान्स लिमिटेड’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । चिम सा शुईमा आयोजित भव्य समारोहमा नबिल बैंक लिमिटेड नेपालका सीईओ मनोजकुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा फाइनान्सको शुभारम्भ गरिएको हो ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिईओ ज्ञवालीले नेपालमा पछिल्ला वर्षहरूमा थुप्रै वित्तीय संस्था धराशायी भएको उदाहरण प्रस्तुत गर्दै लगानीलाई सुरक्षित बनाउन सचेत र योजनाबद्ध रणनीति आवश्यक रहेको सुझाव दिए । उनले हङकङमा नेपाली समुदायको पहलमा स्थापित यो संस्थाले नेपालीहरूमा वित्तीय सचेतना र आत्मविश्वास बढाउने अपेक्षा पनि व्यक्त गरे ।
फाइनानन्स सञ्चालक सदस्य अध्यक्ष डीके दाहालले भविष्यमा बैंक बनाउने लक्ष्यसहित फाइनान्स शुभारम्भ गरिएको बताउँदै भने, “हङकङमा नेपालीहरूको आफ्नै वित्तीय संस्था होस् भन्ने हाम्रो सपना थियो । आज त्यो यात्राको पहिलो चरण सफलतापूर्वक सुरु भएको छ ।” उनले थपे, “भविष्यको लक्ष्य भनेको बैंक बनाउने उद्देश्यका साथ हामीले यो सुरुवात गरेका छौँ । साथै, सकेसम्म चाँडै मकाउमा पनि नयाँ शाखा विस्तार गर्ने तयारी भइसकेको छ ।”
कार्यक्रममा हङकङमा विभिन्न सामाजिक संस्थामा आवद्ध व्यक्तित्वहरु, व्यवसायिक तथा संस्थागत व्यक्तित्वहरू र नेपाली समूदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
फाइनान्स डीके दाहाल र आकाश बन्जाराको नेतृत्वमा सञ्चालनमा आएको हो ।










प्रतिक्रिया