१२ असार २०८३, शुक्रबार

परीक्षा केन्द्रमा बम राखेको हल्ला फैलाउने व्यक्ति पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । काठमाडौंको एक परीक्षा केन्द्रमा बम रहेको भनेर हल्ला फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रबार कुलेश्वरको जनमैत्री माविमा बम राखिएको भन्दै अफवाह फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

महोत्तरी घर भई कीर्तिपुर बस्दै आएका ३८ वर्षीय जयरूद्र झा पक्राउ परेका हुन् । प्रहरीको कन्ट्रोल नम्बर १०० मा शुक्रबार बम रहेको भन्दै सूचना दिएका थिए ।

सूचना दिएपछि प्रहरीको टोली खटिएको थियो । प्रहरीको टोलीले तालिम प्राप्त कुकुर र बम डिस्पोजल टोली समेत झिकाएको थियो । सूचना दिएपछि झाले भने मोबाइल अफ गरेका थिए ।

पछि खोज्ने क्रममा प्रहरीले कीर्तिपुर नयाँ बजारबाट उनलाई नियन्त्रणमा लिएको थियो । त्यस विद्यालयमा मास्टर्स इन पब्लिक एड्मिनिस्ट्रेशनको परीक्षा हुँदै थियो ।

‘उनी आफै पनि परीक्षा दिने विद्यार्थी रहेछन् । उनीबाट परीक्षाको प्रश्नपत्र पनि बरामद भएको थियो,’ एसपी आचार्यले भने, ‘सुरूमा अरू कसैले फोन खोसेर सूचना दिएको भनेका थिए ।’

तर पछि भने उनले आफूलाई तनाब भएकाले गलत सूचना दिएको बताएका हुन् । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।