३० जेष्ठ २०८३, शनिबार

टुँडिखेलमा गौरा पर्वको रौनक (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा मनाइएको छ। हरेक वर्षजस्तै आइतबार सुदूरपश्चिममबाट काठमाडौं आएर बसोबास गर्ने समुदायले सद्भाव र एकताको सन्देश दिन गौरा पर्व मनाएका हुन् ।

तीन दिनसम्म मनाइने गौरामा महिलाहरू व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । गौराको दोस्रो दिन व्रतालु महिलाले पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ । सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।

गौरा पर्वको प्रमुख आकर्षण भनेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने नै हो । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।

परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्वले सुदूरपश्चिम प्रदेशको विशिष्ठ पहिचानका रुपमा परिचित छ। गौरा पर्वले ऐतिहासिक एवं पौराणिक महत्त्व बोकेको छ। मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरापर्व सुरुसुरुमा सुदूरपश्चिममा मात्र मनाइने भए पनि पछिल्लो समय काठमाडौंमासमेत विशेष रुपमा मनाउन थालिएको हो ।