
ललितपुर, १४ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने बताएका छन् ।
शनिबार पार्टी गोदावरी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, “देशमा ओलीको विकल्प छैन् । संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो ।”

पोखरेलले ७० वर्षे उमेर सीमा बढाइएको ओलीका लागि मात्र नभएको उल्लेख गर्दै नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण ओली नै राष्ट्रको विकल्प रहेको दोहोर्याए । पोखरेलले भने, “संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ । पूर्वराष्ट्रपतिलाई सम्मानित र मर्यादित रहनु आवश्यक छ । पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन् ।”
महासचिव पोखरेलले दुर्गा प्रसाईं र रवि लामिछाने जस्ता नेताहरूको “छाडा बोल्ने प्रवृत्ति र अराजकताप्रतिको प्रशंसा समाजका लागि हानिकारक” भएको बताए ।

महासचिव पोखरेलले भारतले लगाएको नाकाबन्दीको ओलीकै नेतृत्वमा डटेर सामना गरिएको उल्लेख गर्दै भने, “कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा बदल्ने सामर्थ्य ओलीबाहेक कसैमा छैन । ढिलोचाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ ।”
पोखरेलका अनुसार एमाले पटक–पटक फुटेपनि पुनः संगठित हुने क्षमता राख्ने पार्टी हो । “दूरदर्शी नेतृत्व ओलीमै छ, एमाले बलियो राजनीतिक शक्ति बनेको छ र अब ‘मिसन ८४’ सफल पार्दै अघि बढ्छ,” पोखरेलले भने ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पनि पार्टीभित्र निराश हुने अवस्था नरहेको बताए ।

“२०७९ को तुलनामा अहिलेको परिवेश अनुकूल हुँदै गएको छ । व्यक्तिगत दम्भ र जुँगाको लडाइँ त्यागेर फराकिलो छाती बनाएर पार्टी एक भए विजय सुनिश्चित हुनेछ,” भट्टराईले भने । भट्टराईका अनुसार पार्टी एकता, संगठन विस्तार र कार्यकर्ताको सक्रियताबाट ‘मिसन ८४’ सफल पार्दै एमाले अझ शक्तिशाली बन्नेछ ।
भट्टराईले भदौ २० देखि २२ सम्म गोदावरीमै हुने दोस्रो विधान महाधिवेशन पहिलो महाधिवेशनको समीक्षासहित ‘मिसन ८४’ सफल बनाउन मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे । उनका अनुसार विधान महाधिवेशनले पार्टीलाई अझ सुदृढ बनाएर २०८४ सालको निर्वाचन आफ्नो पक्षमा पार्न सहयोग गर्नेछ ।
नगर कमिटी अध्यक्ष विक्रम घिमिरेले विधान महाधिवेशन गोदावरीमै हुनु नगरवासीका लागि सुखद भएको बताए । “२०५४ सालको एमालेको विरासत २०८४ सालमा फर्किन्छ । गोदावरीमा गुट उपगुटलाई ठाउँ दिइने छैन ,” उनले भने ।
यसैगरी, कमिटी उपाध्यक्ष रमी प्रधानाङ्गले समय–समयमा आन्तरिक तथा बाह्य प्रहार भए पनि एमाले कहिल्यै विचलित नभएको उल्लेख गरिन् । उनले कार्यकर्तालाई एकताबद्ध भई संगठन सुदृढ बनाउन आह्वान गरिन् ।
नेताहरूले एमाले बलियो राजनीतिक शक्ति भएकाले आगामी निर्वाचनमा विजय पक्का हुने दाबी गर्दै कार्यकर्तालाई सक्रिय र संगठित रूपमा अघि बढ्न आह्वान गरे । कार्यक्रम अघि टाहाखेल चौतारोबाट धिमे बाजा, खैजडी भजनले स्वागत गरिएको थियो ।











प्रतिक्रिया