९ असार २०८३, मंगलबार

मर्चवारको समृद्धिको जिम्मा एमालेले लिन्छ : अर्थमन्त्री पौडेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १४ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

शनिबार मर्चवारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको भन्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे ।

“बलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौं जनता, पूर्वअध्यक्षहरूसहित एमालेमा प्रवेश गर्नुभएको छ,” उपाध्यक्ष पौडेलले भने, “यसबाट म निकै खुसी छु ।” उनले मर्चवारको विकासको जिम्मा एमालेलाई दिन आग्रह गर्दै आगामी २–४ वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनीजस्तै बनाउने प्रतिबद्धता जनाए ।

सरकारी अस्पताल, सरकारी क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाए । “आजको मितिदेखि मर्चवारलाई पछाडि पर्न दिने छैनौं,” उपप्रधानमन्त्री पौडेलले स्पष्ट पारे ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्दन बानियाँले उपप्रधानमन्त्री पौडेल समक्ष मर्चवार क्षेत्रमा चार लेनको रिङ्ग रोड निर्माण गर्न आग्रह गरे । शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

एमालेमा प्रवेश गर्दै शुक्लाले भने, “बलियो पार्टी बिना विकास सम्भव छैन भन्ने बुझेर मैले एमाले रोजेको हुँ ।”

कार्यक्रममा नेताहरूले एमाले मात्र देश विकासको प्रमुख आधार हुन सक्ने निष्कर्ष प्रस्तुत गरेका थिए । कार्यक्रममा एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले पनि तराई मधेशको समृद्धि एमालेकै नेतृत्व सम्भव हुने भन्दै पार्टीमा आबद्ध भएकाहरुलाई स्वागत गरे ।

सम्भावनाको क्षेत्र अब पिछडिने छैन

रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्नभण्डार भनिन्छ । उर्वर भूमि, प्रचुर कृषि सम्भावना र ऐतिहासिक–सांस्कृतिक महत्व बोकेको यो क्षेत्र लामो समयसम्म भने पछाडि पारिएको थियो ।

डेढ लाख जनसंख्या ओगट्ने मर्चवारमा आज पनि धेरै घरमा शौचालय छैनन्, ह्यान्डपम्प वरिपरि दुर्गन्धमय फोहर छ, स्कुले बालबालिकाले धुलोमै खेल्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ जस्ता आधारभूत पूर्वाधार न्यून भएकाले यहाँका जनताले कठिन जीवन गुजारिरहेका थिए । तर, पछिल्ला केही वर्षयता मर्चवारको मुहार फेरिन थालेको छ ।

स्थानीय अगुवा जितेन्द्रनाथ शुक्ला र केशबनन्द बनियाँ भन्छन्, “हामीले संघीय र प्रदेश सरकारमा धाउँदा मात्रै विकासको बाटो खुल्दै गएको देख्यौँ ।” उनीहरुको अनुभवमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा मर्चवारले प्राथमिकता पाएको हो ।